सिरहा — सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–४ सिमरास्थित बलान खोलाबाट प्रहरीले ९१ किलो २५ ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब २ः३० बजे इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा पाँच जना मानिसलाई पाँच वटा बोरा टाउकोमा बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीलाई देखेपछि उनीहरूले बोरा फालेर भाग्न खोजेका थिए। त्यस क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको र चार जना फरार भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ जमुवा टोलका करिब ४३ वर्षीय मोहन साह रहेका छन्। प्रहरीले फालिएका पाँचवटै बोरा जाँच गर्दा गाँजा जस्तो देखिने पदार्थ फेला पारेको थियो। तौल गर्दा उक्त पदार्थ ९१ किलो २५ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार साहसँग अनुसन्धान तथा सोधपुछ गर्दा फरार चार जनामध्ये दुई जनाको पहिचान खुलेको छ। फरारमध्ये भगवानपुर गाउँपालिका–४ जमुवा टोलका करिब ४३ वर्षीय कलेन्द्र यादव र ४५ वर्षीय ब्रम्हदेव यादव रहेको प्रहरीले जनाएको छ।

बाँकी दुई जना फरार व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका साहलाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले घटनाबारे जानकारी दिएका हुन्।