सिरहा — दलित विकास मञ्च गोलबजार, सिरहाको सहकार्य, औरही गाउँपालिकाको आयोजना तथा हेलेन केलर इन्टरनेसनलको साझेदारीमा सिरहा जिल्लाका १७ वटै स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व स्तनपान दिवस मनाइएको छ।

स्तनपानको महत्व, आमा तथा शिशुको स्वास्थ्यमा यसको भूमिका र स्तनपानसम्बन्धी सामाजिक भ्रम तथा गलत धारणाको अन्त्य गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा र्‍याली, अन्तरक्रिया, स्वास्थ्य परामर्श तथा जनचेतनामूलक सामग्री वितरणलगायतका कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, दलित समुदायका अगुवा, स्थानीय जनप्रतिनिधि, आमा समूह तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले शिशुको स्वास्थ्य तथा विकासका लागि आमाको दूधको महत्वबारे समुदायमा थप जनचेतना आवश्यक रहेको बताए।

दलित विकास मञ्च सिरहाका कार्यकारी निर्देशक सञ्जय महराले ‘जीवनका लागि पोषण कार्यक्रम’ अन्तर्गत सिरहा जिल्लाका १७ वटै पालिकामा विश्व स्तनपान दिवस विभिन्न जनचेतनामूलक गतिविधिसहित भव्य रूपमा मनाइएको बताउनुभयो।

उहाँका अनुसार विशेषगरी दलित, विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई स्तनपान, मातृ स्वास्थ्य, पोषण तथा नवजात शिशुको हेरचाहसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन कार्यक्रम केन्द्रित गरिएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूले जन्मिएपछि सकेसम्म चाँडो स्तनपान सुरु गर्ने, शिशुलाई आवश्यक पोषण तथा सुरक्षा प्रदान गर्ने र आमालाई स्तनपानका लागि सहयोगी वातावरण उपलब्ध गराउनुपर्ने विषयमा जानकारी दिएका थिए।

सहभागीहरूले स्तनपान आमाको मात्र जिम्मेवारी नभई परिवार र समाजको समेत साझा जिम्मेवारी भएकाले आमालाई आवश्यक सहयोग, समय र सहज वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा कामकाजी महिलाका लागि स्तनपानमैत्री कार्यस्थल, पर्याप्त प्रसूति बिदा, सुरक्षित शिशु स्याहार तथा स्वास्थ्यसम्बन्धी परामर्शमा सहज पहुँच आवश्यक रहेको विषयमा समेत छलफल गरिएको थियो।

दलित तथा सीमान्तकृत समुदायका महिलाहरूलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएको छ।