लहान — समाजसेवी जयकिशोर यादवले सिरहाको नवराजपुर गाउँपालिका–४ र ५ अन्तर्गत सुन्दरपुरका सदाय बस्तीका घरपरिवारलाई झुल वितरण गरेका छन्।

गाउँपालिकाभित्रका सदाय बस्तीमा झुल सहयोग गर्ने लक्ष्यसहित यादवले सामाजिक अभियान सञ्चालन गर्दै आएका छन्। अभियानअन्तर्गत पछिल्ला केही दिनमा तीनवटा बस्तीमा झुल वितरण गरिसकिएको उनले बताए। मंगलबार मात्रै सुन्दरपुरका ६० घरपरिवारलाई झुल वितरण गरिएको छ।

1786420931552

गर्मी तथा वर्षायाममा लामखुट्टेको प्रकोप बढ्ने र त्यसबाट विभिन्न रोगको जोखिम हुने भएकाले झुल वितरणसँगै जनचेतना फैलाउने उद्देश्य रहेको यादवले बताए। उनका अनुसार लामखुट्टेको टोकाइबाट महिला, बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन्। झुलको प्रयोगले लामखुट्टेको टोकाइबाट हुने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।

दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई लक्षित गरी गरिएको सहयोगप्रति स्थानीयले खुसी व्यक्त गरेका छन्। स्थानीयका अनुसार आर्थिक अवस्था कमजोर रहेका परिवारका लागि झुलजस्तो आधारभूत सामग्रीको सहयोग पनि महत्वपूर्ण भएको बताएका छन्।

1786420933854

यादवले यो अभियानलाई सहयोग वितरणमा मात्र सीमित नराखी स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतना फैलाउने अभियानका रूपमा समेत अघि बढाउने बताएका छन्।