राजविराज । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामदसम्बन्धी घटनामा इलाका प्रहरी कार्यालय बोदेबरसाइनले तयार गरेको मुचुल्का तथा सार्वजनिक विवरणमाथि प्रश्न उठेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

घटनाको वास्तविक समय, स्थान र पक्राउसम्बन्धी विवरण प्रहरीको अभिलेखमा फरक–फरक उल्लेख भएको आरोप सार्वजनिक भएपछि सिनियर प्रहरी अधिकृतको नेतृत्वमा छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले पुष्टि गरे। यद्यपि उनले समितिका सदस्यहरूको नाम सार्वजनिक गर्न मानेनन्।

स्रोतका अनुसार समितिको नेतृत्व स्वयं प्रहरी नायव उपरीक्षक घिमिरेले गरेका छन्। घटनासम्बन्धी जिल्ला प्रहरी कार्यालयले गत २१ गते सार्वजनिक गरेको विवरणमा पनि घिमिरेकै हस्ताक्षर रहेको बताइएको छ।

सार्वजनिक विवरणमा हस्ताक्षर गर्ने अधिकारीकै नेतृत्वमा छानबिन समिति गठन गरिएको हो भने निष्पक्षतामाथि प्रश्न उठ्ने स्थानीय ब्रजेश कुमार यादवको भनाइ छ।

स्थानीयका अनुसार सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँमा गत १८ गते अपराह्न करिब ३ः३० बजे भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानसहित एक व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रहरीलाई बुझाएका थिए।

तर, प्रहरीले सार्वजनिक गरेको विवरणमा भने उक्त सामान र मोटरसाइकल १९ गते राति करिब १२ः३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोक सडकखण्डबाट बरामद गरिएको उल्लेख छ। घटनाको समय र स्थानमै फरक देखिएपछि प्रहरीको मुचुल्का तथा सार्वजनिक विवरणमाथि स्थानीयले प्रश्न उठाउँदै आएका छन्।

स्थानीयले प्रहरीलाई बुझाएको व्यक्तिलाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले कार्यालयबाटै छाडेको आरोपसमेत लगाएका छन्। उक्त आरोपबारे सम्बन्धित प्रहरी अधिकारीको स्पष्ट धारणा सार्वजनिक भएको छैन।

घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन भए पनि समितिको नेतृत्व र सदस्यबारे स्पष्ट जानकारी सार्वजनिक नगरिनु तथा सार्वजनिक विवरणमा हस्ताक्षर गरेका अधिकारीकै नेतृत्वमा समिति गठन भएको भनाइ बाहिरिनुले छानबिनको निष्पक्षतामाथि थप प्रश्न उठेको छ।

अब छानबिन समितिले घटनाको वास्तविक समय, स्थान, पक्राउसम्बन्धी विवरण, प्रहरीको मुचुल्का तथा सार्वजनिक विवरणमा देखिएको अन्तर र आरोपित व्यक्तिलाई छाडिएको विषयमा तथ्यपरक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।