सिरहा । सिरहामा सशस्त्र प्रहरीका कर्मचारीलाई टाटा सफारीले ठक्कर दिएर फरार रहेको आरोप लागेका ज्यान मार्ने उद्योग, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी कसुरका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन्।

सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रबाट प्रहरीले बुधबार साँझ भारततर्फ भाग्न खोजिरहेका भनिएका मोहम्मद कुरवान मंसुरीलाई गोली लागेपछि नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भारतको बिहार राज्य, मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना घर भएका करिब ३७ वर्षीय कुरवान हाल सिरहाको नवराजपुर गाउँपालिका–५ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे कचनारी सीमाक्षेत्रबाट भारततर्फ टाटा सफारीमा ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको सूचनापछि सशस्त्र प्रहरीको टोली चेकजाँचका लागि पुगेको थियो।

त्यस क्रममा DL 5 CJ 7171 नम्बरको टाटा सफारीले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवलाई ज्यान मार्ने उद्देश्यले ठक्कर दिएको प्रहरीको दाबी छ। घटनापछि गाडीधनी तथा चालकसमेत रहेका कुरवान फरार रहेको प्रहरीले जनाएको छ।

फरार अभियुक्तको खोजीमा रहेको इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोलीले बुधबार साँझ करिब ५ः१० बजे कचनारी सीमाक्षेत्रमै कुरवानलाई फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा कुरवानसहित तीन जनाको समूहले प्रहरी टोलीतर्फ एक राउण्ड गोली चलाएको थियो। त्यसपछि प्रहरीले जवाफी कारबाहीस्वरूप तीन राउण्ड गोली चलाएको जनाएको छ।

प्रहरीको जवाफी फायरिङमा कुरवानको बायाँ हातको कुहिना र दायाँ खुट्टाको घुँडामा गोली लागेको बताइएको छ। घाइते अवस्थामा पक्राउ परेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार कुरवानविरुद्ध ज्यान मार्ने उद्योग, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइनेछ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।