सिरहा:- कुलानन्द यादव/ असोज/६। भगवानपुर गाउँपालिका-१ स्थित भगवानपुर चोकमा सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण तथा मादक पदार्थ सेवन (मापसे) चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै मापसे सेवन गरे/नगरेको विषयमा समेत चेकजाँच गरिएको हो।कार्यक्रमका क्रममा जम्मा १६ जना सवारी चालक तथा सहचालकको मापसे परीक्षण गर्दा ६ जना पोजिटिभ देखिएको जनाइएको छ। सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा सुनिश्चित गर्न तथा सवारी चालकलाई जिम्मेवार बनाउन यस्ता चेकजाँच प्रभावकारी हुने प्रहरीको उद्देश्य रहेको छ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक नवीन मरासिनीको उपस्थिति रहेको थियो। त्यस्तै, भगवानपुर गाउँपालिका उपाध्यक्ष रेखा यादव र वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष इन्द्र प्रसाद यादवको समेत सहभागिता रहेको थियो स्थानीयस्तरबाट कार्यक्रमलाई सहयोग गर्दै युवा ओम कुमार यादव, चन्दन कुमार यादव लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य परीक्षणतर्फ स्वास्थ्यकर्मीहरू विजय यादव, शिव कुमार यादव र रुपेश कुमार झा लगायतको सहभागिता रहेको थियो।

सवारी चलाउँदा मादक पदार्थ सेवन नगर्न, आफ्नो स्वास्थ्य अवस्थाप्रति सचेत रहन तथा सडक सुरक्षाका नियम पालना गर्न चालक तथा सहचालकलाई सचेत गराउने उद्देश्यले गरिएको यस प्रकारको अभियानलाई स्थानीयस्तरमा सकारात्मक र प्रशंसनीय पहलका रूपमा हेरिएको छ।सडक दुर्घटनाको जोखिम कम गर्न प्रहरी, स्थानीय तह, स्वास्थ्यकर्मी तथा स्थानीय समुदायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता समेत देखिएको छ।




















