सिरहा । सिरहाको ठाडी सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइएको सामान भन्सार कार्यालयमा बुझाउन लैजाँदै गर्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको कानुनी प्रक्रिया र सुरक्षाकर्मीको व्यवहारमाथि प्रश्न उठेको छ।
स्थानीयका अनुसार भारतबाट ल्याइएको सामान आवश्यक भन्सार प्रक्रिया पूरा गर्न कार्यालयतर्फ लैजाँदै गर्दा सीमा क्षेत्रमै सशस्त्र प्रहरीले रोकेर नियन्त्रणमा लिएको हो।
सामान लिएर गएका एक युवकले आफूहरू सामान भन्सार कार्यालयमा बुझाउन लैजाँदै गरेको अवस्थामा सुरक्षाकर्मीले सामान नियन्त्रणमा लिएको बताए। उनका अनुसार त्यस क्रममा आफूहरूमाथि अपशब्द प्रयोग गर्दै गालीगलौजसमेत गरिएको थियो।
“हामी सामान भन्सार कार्यालय लैजाँदै थियौँ। बाटोमै सामान समातियो। हामीलाई ‘साले’ भनेर गालीसमेत गरियो,” ती युवकले आरोप लगाए।

यस्तै, घटनास्थलमा रहेकी एक महिलाले आफूहरू पनि भन्सार प्रक्रिया पूरा गर्न सामान कार्यालयतर्फ लैजाँदै गरेको बताइन्।
“हामी पनि भन्सार कटाउन लैजाँदै थियौँ, तर सशस्त्र प्रहरीले हाम्रो सामान समात्यो। अब आफैं विचार गर्ने कुरा हो। हामी कानुनी प्रक्रिया पूरा गर्न भन्सार लैजाँदै गरेको सामान समातिएपछि अब कसरी सामान लैजाने,उनले प्रश्न गरिन्।

सामान नियन्त्रणमा लिएपछि त्यसको बरामदी मुचुल्का तयार भयो कि भएन, कुन कानुनी आधारमा सामान नियन्त्रणमा लिइयो तथा नियन्त्रणमा लिइएको सामान सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरियो कि गरिएन भन्ने विषयमा समेत प्रश्न उठेको छ।
सीमा क्षेत्रमा चोरीपैठारी तथा भन्सार छली नियन्त्रण गर्नु सुरक्षा निकायको जिम्मेवारी भए पनि नियन्त्रणमा लिइएको सामानको बरामदी, मुचुल्का र त्यसपछिको कारबाही प्रचलित कानुनअनुसार पारदर्शी रूपमा हुनुपर्ने स्थानीयको भनाइ छ।
यसैबीच, घटनाबारे सशस्त्र प्रहरीको धारणा बुझ्न ठाडीस्थित सशस्त्र प्रहरीका डीएसपी श्यामबाबु यादवसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर फोनमार्फत प्रतिक्रिया प्राप्त हुन सकेन।
त्यसपछि पत्रकार कुलानन्द यादव कार्यालयमै पुगेर घटनाबारे जानकारी लिन खोज्दा आफूलाई धम्कीपूर्ण व्यवहार गरिएको आरोप लगाइएको छ।
स्थानीयले नियन्त्रणमा लिइएको सामान अवैध भए त्यसको बरामदी तथा कानुनी कारबाहीको विवरण सार्वजनिक गर्नुपर्ने र भन्सार प्रक्रिया पूरा गर्न लैजाँदै गरिएको सामान भए नियन्त्रणमा लिनुको कानुनी आधार स्पष्ट पार्नुपर्ने माग गरेका छन्।




















