सिरहा — जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्मल कुमार मण्डलले पार्टीको राष्ट्रिय उपमहासचिव पदमा उम्मेदवारी दिएका छन्। मिर्चैया नगरपालिका–१० का ३८ वर्षीय मण्डलले मधेश आन्दोलनदेखि पार्टी संगठन विस्तार र किसान आन्दोलनसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएको विवरण सार्वजनिक गरेका छन्।

मण्डलका अनुसार उनी २०६२–६३ को मधेश जनआन्दोलनमा स्वतन्त्र नागरिकका रूपमा सहभागी भएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेशी अधिकारका पक्षमा निर्वाचन अभियानमा सक्रिय सहयोग गरेको र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं. ६ बाट संविधानसभा सदस्यका उम्मेदवार बनेको उनले बताएका छन्।

२०७० सालको निर्वाचनपछि सञ्चालन भएको स्वराज आन्दोलनमा पनि उनी सहभागी भए। आन्दोलनका क्रममा २०७४ सालमा लहानबाट र २०७८ सालमा संघीय मन्त्रीको मधेश प्रवेश निषेध गर्ने आन्दोलनका क्रममा मिर्चैयाबाट पक्राउ परेको उनको राजनीतिक विवरणमा उल्लेख छ।

किसान आन्दोलनमा सिरहा जिल्लाको नेतृत्व गरेका मण्डलले त्यस क्रममा ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दासमेत खेपिरहेको बताएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले मिर्चैया नगरपालिकामा निर्वाचन पर्यवेक्षकका रूपमा जिम्मेवारी सम्हालेका थिए। सोही वर्ष सिरहा–४ मा पनि पार्टीको निर्वाचन पर्यवेक्षकका रूपमा काम गरेको र उक्त क्षेत्रमा जनमत पार्टीले १६ हजारभन्दा बढी मत प्राप्त गरेको तथा सिरहा–४(१) बाट पार्टीका उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित भएको उनको विवरणमा उल्लेख छ।

मण्डलको राजनीतिक सक्रियता नेपालमा मात्र सीमित नरहेको दाबी गरिएको छ। सन् २०१५/१६ तिर साउदी अरबमा गैरआवासीय मधेशी संघ स्थापना गरी आफ्नो कार्यकालमा हजारौँ मधेशीलाई संगठनमा आबद्ध गराएको तथा प्रवासमा बाढी र आगलागीपीडितलाई सहयोग एवं विभिन्न समयमा पीडितको उद्धारमा सक्रिय भूमिका खेलेको उनको दाबी छ।

जनमत पार्टीको २०७७ सालको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत भएपछि उनले पार्टीले दिएको विभिन्न जिम्मेवारी सम्हाल्दै आएको बताएका छन्। मधेश प्रदेशका आठवटै जिल्लामा संगठन विस्तार, अधिवेशन तथा पार्टी गतिविधिमा सहभागी हुनुका साथै बारा जिल्लामा जिल्ला प्रशिक्षकको जिम्मेवारीसमेत निर्वाह गरेको उनको विवरणमा उल्लेख छ।

मण्डलले पार्टी संगठनलाई स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्म थप सुदृढ बनाउने तथा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय उपमहासचिव पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्।

मण्डलको शैक्षिक योग्यता +२ रहेको छ। उनले आफ्नो पेशा समाजसेवा तथा राजनीति रहेको उल्लेख गरेका छन्। उनी जनमत पार्टीका सदस्य हुन् र उनको सदस्यता नम्बर २६८९५ रहेको विवरणमा उल्लेख छ।