मनु यादव निरज : वीरगन्ज । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनाबाट राउत अध्यक्षमा र सिरहाका सञ्जयकुमार यादव महासचिवमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। तर पार्टीको निर्वाचन निर्देशिकाले निर्वाचित हुन खसेको सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था गरेकाले एकल उम्मेदवारी हुँदाहुँदै पनि अध्यक्ष पदमा मतदान भएको थियो। राउतले आवश्यक थ्रेसहोल्ड पार गरेका छन्। उनको प्राप्त मतको विस्तृत संख्या भने सार्वजनिक गरिएको छैन।
महासचिव पदमा भने तीन जनाबीच प्रतिस्पर्धा भएको थियो। सिरहाका सञ्जयकुमार यादव, सप्तरीकी ममता झा र महोत्तरीका चन्दनकुमार सिंह उम्मेदवार थिए। मतगणनामा सहभागी एक नेताका अनुसार सञ्जयले सबैभन्दा बढी मत प्राप्त गर्दै महासचिवमा निर्वाचित भएका हुन्। यसअघि चन्दन सिंह पार्टीका महासचिव थिए।
महाधिवेशनमा कुल १ हजार १ सय ५५ प्रतिनिधिले मतदान गरेका थिए। सात उपाध्यक्ष पदका लागि १४ जना, उपमहासचिवका लागि दुई जना तथा सात सचिव पदका लागि १० जनाबीच प्रतिस्पर्धा भएको थियो।
जनमतको दोस्रो महाधिवेशनले अध्यक्षसहित १७ पदाधिकारी रहने नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको हो। निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय कार्यकारिणी समितिका निर्वाचित पदमा पनि न्यूनतम २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।
सिरहाका सञ्जयकुमार यादव मधेश प्रदेशका प्रदेशसभा सदस्य हुन्। उनी यसअघि मधेश प्रदेश सरकारमा दुई पटक मन्त्रीसमेत भइसकेका छन्। जनमत पार्टीको राजनीतिक गतिविधिमा उनी सुरुदेखि नै सक्रिय रहँदै आएका छन्।
राउतको पुनः नेतृत्व र सञ्जयको महासचिवमा चयनसँगै जनमतको दोस्रो महाधिवेशनबाट पार्टीको आगामी संगठनात्मक र राजनीतिक दिशालाई लिएर चासो बढेको छ।




















