सिरहामा खैरो हेरोइनजस्तो पदार्थसहित दुई युवक पक्राउ


सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई युवक पक्राउ परेका छन्।


जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ करिब ५ः३० बजे प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो।


मोटरसाइकल चालक धनगढीमाई नगरपालिका–१३ का १९ वर्षीय सुरज यादवको साथबाट प्लास्टिकसहित ५.५७ ग्राम र प्लास्टिकबाहेक ४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १९ वर्षीय श्यामबाबु कुमार यादवलाई समेत पक्राउ गरिएको छ।


दुवै जनालाई मोटरसाइकल र बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।