मनु यादव निरज / सिरहा। प्रत्येक वैशाख प्रारम्भसँगै मिथिलामा जुडशितल पर्व मनाइन्छ । याे पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगतिकाे कामनासहित ठुलाबडाले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् । रुखविरुवामा पानी हाल्ने अनि खेतबारीमा मलजल गर्ने परम्परा पनि याे पर्वकाे अर्काे विशेषता हाे । बढ्दो गर्मीका माझ आरम्भ हुने जुड शितललाई जीवनमा शीतलता दिने पर्वका रूपमा लिइन्छ ।
जुडशीतल पर्वकाे धार्मिक महत्त्व त छँदै छ, सँगै प्राकृतिक महत्त्व पनि कम छैन । हाम्रा पुर्खाले गर्मी छेक्न र गर्मीसँग लड्न सकियोस् भनेर याे पर्व मनाउन थालेका थिए । तर, हिजाेआज प्रकृतिमाथि मानिसहरूकाे ज्यादती बढ्दाे छ । त्यसैले जुडशितल पर्वलाई प्रकृति संरक्षणकाे महत्त्वपूर्ण अभियानका रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।
मधेश जुडशीतल पर्व : आशीर्वाद लिन गाउँ डुल्छन्, चुल्होलाई एक रात आराम दिन्छन्
पर्वको पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना, जाै, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु र माटोको आम्खोरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूल पुरोहित, ब्राह्मण र साधुलाई दान गरिने मिथिला चलन छ । त्यस्तै बढ्दो गर्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छ । यसलाई बोलीचालीमा ‘सतुवाईन’ पनि भनिन्छ । थारू समुदायमा याे पर्व सिरुवाको नामले मनाइन्छ ।
त्यसैगरी वैशाखको दोस्रो दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको टाउको जल छर्केर आर्शीवाद दिने गरिन्छ । सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मिथिलावासी इष्ठमित्र, साथी-सङ्गीबीच धुलो, माटो र हिलो छ्यापाछ्याप गर्ने चलन छ । यसले प्रकृति संरक्षणसँगै माटोप्रतिकाे प्रेम दर्शाउँछ । त्यस्तै जुडशीतल पर्वमा आफ्नाे खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गर्दै, नयाँ बोट बिरुवा रोप्दै आवश्यक चिस्यानको कमी कहिल्यै नहोस् भन्ने कामना गरिन्छ ।
जुडशीतल र जलवायु परिवर्तन
यो पर्व मिथिलामा प्रकृतिसँग जोडिएको संस्कृतिको रूपमा पनि छ । तर, जलवायु परिवर्तन र यसकाे असर बढिरहेका बेला जुडशीतल पर्वको महत्त्व अझै सान्दर्भिक बन्न पुगेकाे छ । तर, युवा पिँढीमा आफ्नै संस्कृतिको ज्ञान र संरक्षणको अभाव हुनु बिडम्बना छ । आधुनिक संस्कृतिको विकास र प्रचलनसँगै जुडशीतल पर्वकाे महत्त्व घट्दै गएको देखिन्छ ।
विशेषगरी मधेश प्रदेशमा यसको महत्त्व घट्दै जानु, युवा पिँढीले यस पर्वको वैज्ञानिक महत्त्व बुझ्न नखाेज्नु, प्रचारप्रसार नहुनु, केवल बिदाको दिनका रूपमा हेरिनु शुभसंकेत हाेइन ।
जुड शीतलको पहिलो दिन सतुवासँग बनेको परिकार खाने चलन छ भने दोस्रो दिन चुलो नबाल्ने प्रचलन छ । जसको अर्थ एकदिन चुलो नबालेर तापलाई कम गर्न खाेजिएकाे हाे । जुन मान्यतालाई विश्वमा ‘अर्थ आवर’ भनेर मनाइन्छ । त्यसैले यो पर्व मानव र प्रकृतिसँग सिधै जोडिएको छ ।
जलवायु परिवर्तनकाे असर रोक्न यो परम्परा वर्षौदेखि चल्दै आएकाे छ । बदलिँदो समय सँगसँगै कतिपय परम्परा पनि बदलिँदा छन् । तर, जडशीतलजस्ता पर्वकाे राम्रो पक्षको संरक्षण गर्न सके जलवायु परिवर्तन र यसका असरबाट जाेगिन मानिस र प्रकृतिका लागि निकै महत्त्वपूर्ण सावित हुने छ ।
त्यस्तै संघ, स्थानीय र प्रदेश सरकारले पनि याे पर्वलाई जलवायु परिवर्तनसँग जाेडेर प्रचार गर्न सके राम्राे हुन्छ । यस पर्वकाे महत्त्वलाई संस्थागत गर्न सके वातावरण संरक्षणमा ठूलो टेवा पुग्ने देखिन्छ । मधेसमा बढ्दाे चुरे दोहन र गर्मीले पनि जुडशीतल पर्वलाई धार्मिक कोणभन्दा पनि प्राकृतिक कोणबाट महत्त्वपूर्ण बनाएकाे छ ।


















