काठमाडौं । तपाईंको मुख तथा दाँत स्वस्थ्य छ ? छैन भने ख्याल गर्नुहोस्। मुख र दाँतलाई शरीरको ऐना पनि भनिन्छ। शरीरको स्वस्थताका लागि मुख र दाँत स्वस्थ हुनुपर्छ। 

दाँत पाचन प्रणालीमा भाग लिने एउटा महत्वपूर्ण अंगमा पर्छ। दाँत बलियो र स्वस्थ रहन दाँत वरिपरिको गिजा पनि स्वस्थ रहनुपर्छ। दाँतको सरसफाइ तथा हेरचाह गर्न सकेनौं भने दाँतसम्बन्धी विभिन्न प्रकारका रोगहरू लाग्न सक्दछन्। त्यसैले दाँत तथा मुखको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्दछ। दाँत किराले खाने, कुहिने र बिग्रने प्रमुख समस्याका रूपमा रहन्छ। गुलियो पदार्थ धेरै खाने गर्नाले दाँतसम्बन्धी समस्या ल्याउन सक्छ। तसर्थ, किराले खाए÷नखाएको, दाँत सफा भए÷नभएको हेर्नुपर्दछ।

दाँत किरा लाग्ने वा खिइने समस्या बढी देखिन्छ। दाँत किराले खाएको छ वा कुनै पनि खानेकुरा टोक्दा वा चपाउँदा दाँत दुख्ने, झन्झनाहट हुने जस्ता समस्या हुन्छ भने तुरुन्त दाँत विशेषज्ञकहाँ परीक्षण गर्न जानुपर्दछ।

दाँतको हेरचाह कसरी गर्ने ?

–    नियमित रूपमा दिनको दुईपटक साँझ र बिहान खाना खाइसकेपछि दाँत माझ्नुपर्दछ।

–    दाँत माझ्नका लागि स्तरीय ब्रसको प्रयोग गर्नुपर्दछ।

–    दाँत माझ्ने ब्रस व्यक्तिगत हुनुपर्दछ। साथै ब्रस प्रयोग गरिसकेपछि राम्रोसँग सफा गरी राख्नुपर्दछ।

–    दाँत माझ्दा ब्रसले दायाँबायाँ गरी माझ्नुभन्दा तलमाथि गरी माझ्नुपर्छ। करिब ३ मिनेट ब्रस गर्नुपर्दछ। 

–    दाँत माझीसकेपछि पानीले मुख कुल्ला गर्नुपर्छ।

–    दाँत माझ्ने ब्रस प्रत्येक तीन महिनामा नयाँ फेर्नुपर्दछ।

–    दाँतसम्बन्धी कुनै समस्याहरू देखिएमा तुरुन्त दन्त विशेषज्ञसँग सरसल्लाह लिई आवश्यक उपचार गराउनुपर्दछ।अन्नपूर्ण पाेस्ट